पोखरा १७ र २१ जोड्ने फुर्सेखोला ट्रस्टपुल निमार्णमा ढिलाई किन ?

पोखरा महानगरपालिका वडा नं १७ र २१ जोड्ने फुर्सेखोला ट्रस्टपुलमा फलामी सामान उपलब्ध नहुँदा पुल निर्माण कार्यले तीव्रता पाउन नसकेको हो ।

पोखरा महानगरपालिका तथा एसडब्लुएपि नेपालको सहयोगमा निर्माणाधिन ट्रस्ट पुलको उपभोक्ता समितिद्वारा गर्ने काम सकिएको अवस्थामा फलामको सामान उपलब्ध नहुँदा कार्यले निरन्तरता नपाएको हो ।

गत बैशाख १९ गते औपचारिकरुपमा कामको थालनी भएता पनि कामको शुरुवात भने २०७५ चैत २४ गतेबाट भएको थियो । ३२ मिटर लम्बाई रहेको फुस्रेखोला ट्रस्ट पुल निर्माणमा करिब २५ लाख १७ हजार २ सय ६७ को लगानी रहेको पुलको काम हाल भने ठप्प छ ।

खोलाको बहाब दिनप्रति दिन बढ्ने क्रममा छ । जसका कारण वडा नं २१ स्थित युवाज्योति प्रावि विद्यालयमा पढ्न जाने विद्यार्थी स्कूल जानबाट बन्चित हुने अवस्था देखा परेको छ । सोही क्षेत्र आसपास बसोबास गर्ने ३ सय ६३ घरधुरीका २ हजार १ सय ७१ कुल जनसंख्या रहेको फुर्सेखोला क्षेत्रमा खानेपानीको साथै आवतजावतमा समेत कठिनाइ भएको स्थानीयको गुनासो छ ।

पोखरा महानगरपालिका तथा जिल्ला समन्वय समितिको प्राविधिक शाखाबाट उपलब्ध गराईने फलाम आपूर्ति समयमा नहुँदा फलाम सम्बन्धी काममा ढिलाई भएको फुस्रेखोला ट्रस्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिए ।

सो आयोजनाको निर्माण कार्य अवधि आगामी असार १४ सम्म छ । तर कामले निरन्तरता नपाउँदा आयोजना समयमा सम्पन्न हुनेमा शंका पैदा भएको छ ।
‘यही जेठ २६ गतेका दिन बिहान स्कुल जाने बेला एक विद्यार्र्थीलाई खोलाले बगाएकोमा उसलाई सकुशल उद्वार पनि गरियो तर यस्ता घटना दिनहुँजसो नै हुने गरेका छन् । यो एक चिन्ताको बिषय रहेको छ’, अध्यक्ष खड्काले भने ।

पुलको निर्माण सम्पन्न गर्ने समय नजिकिंदै गर्दा सम्वन्धित जिल्ला समन्वय समितिको प्राविधिक शाखाले फलाम निर्माणमा केही ढिलाई हुने भन्दै केही दिनमा समान उपलब्ध गराउने आश्वासन मात्र दिएको निर्माण समितिका सचिव देवबहादुर विकले बताए ।

वडाले समन्वय मात्र गरेको हुँदा उपलब्ध हुने बजेट, उपकरण लगायतका सेवासुविधा महानगर र जिल्ला समन्वय समितिले गर्ने उनले जानकारी दिए । वडाबाट यस विषयप्रति सकरात्मक साथ पाएको भन्दै निर्माण कार्यलाई तीव्रता दिनका निम्ति सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी रहेको सचिव विकको भनाई छ ।