अख्तियारले हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐवसहित १० जना विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०७४ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीका लागि आउनजान हवाई टिकट व्यवस्था गर्न आह्वान भएको बोलपत्रमा कम रकम कबुल गर्नेलाई नदिई बढी रकम दिनेलाई जिम्मेवारी दिएर भ्रष्टाचार गरेको अख्यिारको ठहर छ ।
नेपाल हज समिति सचिवालयले २०७४ जेठ ११ मा शिलबन्दी बोलपत्र आब्हान गरेको थियो । हजयात्रीको टिकट युनिभर्सल टुर्स एन्ड ट्राभल्सले ८८ हजार ९ सय ९५, हिना टुर्स एन्ड ट्राभल्सले ९० हजार र सिलिंक ट्राभल्स एन्ड टुर्सले ९५ हजार ३ सय उल्लेख गरी बोलपत्र भरेका थिए । सबैभन्दा कम रुपैयाँमा तीर्थयात्री लाने ल्याउने जिम्मा लिने संस्थासँग सम्झौता गर्नुपर्नेमा त्यसो नगरी हज समितिका अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी हज कार्यसम्पादन उपसमिति गठन गरी सोही हज कार्यसम्पादन उपसमितिका संयोजक मोहम्मद शोऐब तथा अन्य सदस्यले दोस्रो कम अंक कबोल गर्ने हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गरेका थिए ।
उनीहरुले एकलौटी ढंगले निर्णय गरी हज सचिवालयका सदस्य सचिव तथा लेखापालसँग समेत कुनै पनि आर्थिक तथा सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम पालना सम्बन्धमा कुनै रायसल्लाहसमेत नलिई काम गरेको अख्तियारले जनाएको छ । नेपाल हज समिति सचिवालयका सदस्य सचिव र लेखापालले उक्त गैरकानुनीरूपमा भएको निर्णयलाई कार्यान्वयन नगर्नु पर्नेमा हिना ट्राभल्स एण्ड टुर्सलाई हवाई टिकटको सम्पूर्ण रकम भुक्तानी दिएका थिए । उनीहरुले सार्वजनिक खरिद ऐन २०६३ को दफा २१ को उपदफा (१) र सोही दफाको उपदफा (२) को देहाय (क) मा उल्लेख भएबमोजिम निज हिना ट्राभल्स एण्ड टुर्सले बोलपत्रसाथ पेश गरेको बोलपत्र जमानतवापतको ३८ लाख जफत गर्नुपर्नेमा बोलपत्र जमानत तथा कार्यसम्पादन जमानतसमेत फुकुवा गरिदिएको पाइएको छ ।
उनीहरुले सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएको अख्तियारले जनाएकमो छ । मोहम्मद शोऐब, अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैन विरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।






