म्याग्दीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ।

६० घरधुरीको बसोबास रहेको कुइनेगाउँदेखि नजिकको बस्ती मल्कवाङ, पाखापानी र मङ्गले जान र फर्कन पूरै दिन हिँड्नुपर्ने बाध्यता भएपछि गाउँपालिकाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको हो ।

एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको स्थानीय खबहादुर छन्त्यालले बताए। कुइनेमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बढी बसोबास छ। भीर र जङ्गलको बाटो भएर स्वास्थ्य संस्था पुग्न सास्ती भएको थियो।

उच्च पहाडी क्षेत्रमा अवस्थित कुइनेखानीमा सडकको सुविधा छैन। एकाइ सञ्चालनका लागि गाउँपालिकाले भवन निर्माण र एक अहेवको व्यवस्थापन गरेको छ। स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टीकाबहादुर शाहीले बताए।