यस सिजनमा आरोहणको अनुमति लिएर सगरमाथा आरोहणमा गएका ६ सय ५९ जना आरोहीमध्ये ४ विदेशी आरोहीले आरोहण गरेको भन्दै झूटो विवरण पर्यटन विभागमा बुझाएको खुलासा भएको छ ।
विभागकी निर्देशक मीरा आचार्यका अनुसार यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुशले झुटो विवरण बुझाएका हुन् ।
विभागले आरोहण दलसँग खटाएको सम्पर्क अधिकृत र ट्रेकिङ एजेन्सीसँग बुझ्दा उनीहरुले आरोहण नै नगरेको पाइएपछि उनीहरुले झूटो विवरण पेस गरेको प्रमाणित भएको थियो ।उनीहरुसँगै पाँच नेपाली गाइडहरुले समेत झूटो विवरण पेस गरेका छन्।
उनीहरु काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडको सहयोगमा आरोहणमा गएका थिए। सरकारले आरोहणका लागि खुल्ला गरेको ४ सय १४ हिमालमध्ये यो सिजनका लागि ३० हिमाल आरोहणका लागि आरोहीहरुले अनुमति लिएका थिए।
जसमा सगरमाथा आरोहणका लागि अनुमति लिएका विदेशी र नेपाली आरोहीहरुवाट मात्रै ४४ करोड २४ लाख ३७ हजार ८६२ रुपैयाँ रोयल्टी संकलन भएको छ। त्यस्तै ३० हिमाल वाट मात्रै ४९ करोड ५९ लाख ८६ हजार ६२२ रुपैयाँ राजश्व संकलन भएको छ।






