काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ ।
खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति फण्डबोर्ड को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आयोजना वितरण गरिएको हो ।
सो वडाका खलङ्गाडाँडाका स्थानीय बासिन्दा सनीमाया तामाङले वर्षौदेखि झेल्दै आएको खानेपानी अभाव अहिले आएर पूरा भएकामा खुशी व्यक्त गरिकी छिन्। उनले अब खानेपानी ओसार्नकै लागि समय छुट्याउने दिन गएको बताईन्। पहिला पानी अभावकै कारण वस्तुभाउसमेत धेरै पाल्न नसकेको स्थानियको भनाई छ ।
करीब पाँच किलोमिटर टाढा रहेको महाभारत लेकबाट पानी ल्याई सो भेगका ७२ घरपरिवारलाई स्थानीय जनश्रमदानसहित गरी करीब रु ५२ लाखको लागतमा सो खानेपानी उपलब्ध गराइएको छ ।




