सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवर्धन समिति गठन गरेको छ ।
स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयबाट सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन गरिएको पर्यटन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो।
पर्यटन प्रवर्धन समिति अन्तर्गत प्रदेश नं १ मा १७, प्रदेश नं २ मा १९, गण्डकी प्रदेशमा २२, प्रदेश नं ५ मा २६, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १८ सदस्यीय समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाललाई विश्व पर्यटन बजारमा गुणस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास र प्रवद्र्धन गर्दै सन् २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउन, प्रतिपर्यटक खर्च दर बढाउन र पर्यटकको बसाइ अनुभवलाई थप सुखद बनाउन गुणात्मक रूपले सघाउ पुर्याउने उद्देश्यले सरकारले नेपाल भ्रमण वर्ष २०२० अभियान घोषणा गरेको थियो ।




