जथाभावी हर्न बजाउदा ४ सय भन्दा बढी सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारबाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार मात्र ४ सय १३ सवारीसाधनलाई कारबाही गरेको छ।

उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गर्दा उक्त सवारीसाधन कार्वाहीमा परेका हुन् ।

ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारबाहीलाई तीव्रता दिइएको हो।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए।

महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो । यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र ९ लाख सवारीसाधन सञ्चालमा छन्।