शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको समस्या समाधान गर्न सरकार लागिरहेको बताएका छन् ।
खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले उनीहरुलाई मापदण्ड बनाएर स्थायी गराइने प्रतिक्रिया दिएका हुन् ।
देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेकोले निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको मन्त्री पोखरेलको भनाई छ । शिक्षकहरुलाई विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताए ।
कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्दै उनले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिए ।






