इलाका प्रहरी कार्यालय नवलपुर, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसी १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ परिसकेपछि उनको बयानका आधारमा एसपी रमेश थापा पनि छानबिनमा तानिने भएका छन् ।
इन्स्पेक्टर जीसीले एसपी थापाको निर्देशनमा आफूले त्यस्तो गरेको बयान दिएपछि अख्तियारले उनलाई पनि छानबिनका लागि बोलाएको हो ।
एसपी थापाकै दबाबमा नक्कली चालक खडा गरेको बयान दिएका छन् । एसपी थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भइसकेका छन् । घुस प्रकरणमा सरकारी वकिलसमेतको मिलेमतो भए पनि जीसी फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जीसीलाई १० लाख घुससहित २०७६ जेठ २२ मा पक्राउ गरेको थियो । गएको वैशाख ११ गते गैंडाकोटमा भएको सवारी दुर्घटनामा नक्कली चालक खडा गरी घुस लिएको अभियोगमा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
नवलपुरका व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएपछि उपचारका लागि काठमाडौंमा ल्याइएको थियो । दुर्घटनामा परेका ब्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि पीडितका तर्फबाट काठमाडौंको महराजगंज प्रहरी बृत्तमा जाहेरी दर्ता गरिएको थियो ।






