शनिबार बिहान पोखरा नयाँबजारमा पार्किङमा राखिएको पत्रकार सुरेन्द्र पौडेलको गाडीलाई जिपले ठक्कर दियो । ठक्कर दिने जिप पोखरा ६ लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरको भएको खुलेको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख मुरारी मिश्रले पत्रकार पौडेलको ग२ च ७८८३ नम्बरको कारलाई ठक्कर दिने बा १५ च ६७८३ नम्बरको स्कार्पियो होटल सरोबरको भएको पुष्टि गरे ।
जिपका चालकभुवनेश्वर गौतम रक्सीले मात्तिएका थिए । प्रहरीले उनले मापसे गरेको जनाएको छ । ठक्कर दिएपछि रोडमै पल्टिएको गाडीलाई क्रेनले उठाए प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले शनिबारै नियन्त्रणमा लिएका चालक सोमबार छुटेका छन् ।
सरोबर मापदण्ड विपरीत भवन निर्माण भएको विवादित होटल हो । हालै प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएर पनि यसको उद्घाटन स्थगित भएको थियो । यसका सञ्चालक डा भरत पहारी हुन् ।






