नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले ओली सरकार २ तिहाईको बलमा संविधान र कानून भन्दा माथि उठेको आरोप लगाएका छन् । उनले मिडिया काउन्सिल विधेयक, लोकसेवा विधेयक लगायतका काम र चालिएका कदमले वर्तमान सरकारले संविधान र कानूनको खिल्ली उँडाएको बताए ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एकदलीय अधिनायकवादतर्फ उन्मुख सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको बताए । नेता जोशीले सरकारको गलत क्रियाकलापप्रति खबरदारी गर्दै जनतालाई बुझाउन र नेता कार्यकर्तामा उत्साह जगाउँदै जनतामा पुग्न जागरण अभियान सञ्चालन गरिएको बताए । उनले अभियान पूर्णरुपमा सफल भएको दावी समेत गरे ।
उनले सरकार भ्रष्टचारमा लिप्त रहेका कारण जनताका आकांक्षा पूरा गर्न नसक्ने ठोकुवा गरे । सरकार भ्रष्टचारलाई संस्थागत गर्न खोजेको भन्दै उनले सरकारले कांग्रेसका नेतालाई दोषी देखाएर भ्रष्टचारीलाई संरक्षण गरेको आरोप लगाए ।
वैशाख २५ गतेबाट सुरु भएको १ महिने जागरण अभियानले कार्यकतामा थप हौसला बढेका समेत उनले दावी गरे । निर्वाचनपछि जनतासंग संवाद टुटेका बेला जागरण अभियानले कार्यकतालाई जनता माँझ जान सहज भएको बताए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जागरण अभियानले ४० हजार कार्यकर्ता माझ पार्टी संगठनलाई सदृढीकरण महत्वपूर्ण भूमिका खेलेको बताए । अभियानका क्रममा कास्कीका ७२ ईकाइमा ४ सय प्रतिनिधिले पार्टीलाई मजबुत बनाउनका लागि सुझाव संकलन गरेको सभापति केसीले जानकारी दिए । संकलित सुझावलाई केन्द्रमा पठाइने उनले बताए ।
सभापति केसीले अभियानका क्रममा जनताका घरदैलोमा पुग्दा सरकारप्रति निकै आक्रोश बढेको बताए । उनले भने, ‘जनता कम्युनिष्टलाई भोट दिएर पछुत्तोमा परेका छन् । यसले कुनै दिन ठूलो रुप धारण नगर्ला भन्न सकिने अवस्था छैन ।’
जनताको सामाजिक काम र जनजीविकासंग सरोकार राख्ने पार्टी कांग्रेस भएकाले जनताकै पीर मर्का सुन्न अभियान सञ्चालन गरिएको उनले बताए ।
युनियनका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले सञ्चालन गरेका थिए ।






