दक्षिण कोरियामा कार्यरत एक नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिनादेखि सोलको एक अस्पतालमा उपचाररत पर्वत फलेवास-५ खानीगाउँका अमृत कुँवर रहेको सोलस्थित नेपाली दूतावासले जनाएको छ।
६ महिनाअघि कम्पनीमा काम गरिरहेकै अवस्थामा एक्कासी बेहोस भएका कुँवरलाई सोलस्थित हान्निम मुटु अस्पतालको आईसियुमा राखेर उपचार गरिँदै आएको थियो । कुँवरको गत महिना फोक्सोले काम नगरेपछि फोक्सोको सफल प्रत्यारोपण गरिएको थियो।
घटनाका विषयमा मृतकका परिवारलाई जानकारी गराईसकिएको कोरियाकालागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए । मृतकको श्रीमती कोरियामै रहेकाले प्रक्रिया पूर्याएर शव नेपाल पठाईने दूतावासले जनाएको छ।कुँवर ईपिएसमार्फत ३ वर्षअघि कोरिया आएका थिए।यो घटनासँगै कोरियामा पछिल्लो १५ दिनमा ३ नेपालीले ज्यान गुमाएका छन्।




