गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताएका छन् ।
आजदेखि यहाँ शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनका क्रममा उनले यो समस्या कुनै स्थानीय तह वा एउटा देशको मात्र नभइ सम्पूर्ण विश्वको समस्या भएकोले सहकार्य आवश्यकता रहेको बताएका हुन् ।
दुई दिनसम्म हुने सम्मेलन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा भएको हो ।
सम्मेलनमा नेपालका करीब ४५, माल्दिभ्सि र भुटान बाहेक दक्षिण एशियाली मुलुकका २५ गरी कूल ७० स्थानीय तहका जनप्रतिनिधि र स्थानीय सरकार विषयका विज्ञको सहभागिता छ ।
सम्मेलनका विभिन्न सत्रमा विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, गाउँपालिका र नगरपालिका प्रमुखको प्रस्तुति रहने छ ।
स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनःनिर्माणले फड्को मारेको र प्राप्त उपलब्धि तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायलेसमेत सिक्न सकुन भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।






