नेपाली बजारमा भारु १ सयभन्दा माथिका नोट कारोबारमा प्रतिवन्ध छ । चिनियाँ नोटको कारोबारका लागि त मनी चेन्जर र बैंकहरु नै पुग्नुपर्छ । मुख्य सहर र बजारहरुमा यस्तो हुँदा नेपालको कुनै गाउँमा सजिलैसँग भारतीय र चिनियाँ मुद्रा दुवै चल्छ भन्दा पत्यार नलाग्न सक्छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा भने दुवै मुद्रामा कारोबार हुन्छ । नेपाली मुद्रा नभएका भारतीय र चिनियाँ यसबाट लाभान्वित भएका छन् । छोसेरका एक व्यापारीले आफ्नो पसलमा चिनियाँ युआन र भारु दुवै चल्ने बताए । व्यापारी कर्मा गुरुङले भारु जता पनि कारोबार गर्न सकिने भए पनि चिनियाँ मुद्रा चीनबाट सामान आयात गर्दा प्रहुने हुने बताए । वरिपरिका अरु अरु व्यवसायीले पनि दुवै मुद्रा लिन्छन् ।
मुस्ताङको जोमसोममा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति हुने हुँदा त्यहाँ भारतीय रुपैयाँ चल्छ । उनीहरुले शालिग्राम, छुर्पी, स्याउको सुकुटी भारु दिएरै किन्ने गरेका छन् । उपल्लो मुस्ताङ भने चीनसँगको सीमा नजिक हुँदा त्यहाँ चीनको प्रभाव बढी छ । पर्यटकसँग लिएको चिनियाँ मुद्रा व्यापारीले चिनियाँ सामान किन्न प्रयोग गर्छन् । उपल्लो मुस्ताङमा चकलेट, बिस्कुटदेखि पेय पदार्थ, बियरसम्म चीनमा उत्पादन भएका बिक्रीमा राखिएका देखिन्छन् ।




