म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।
नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो ।
कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिए ।
नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत्गृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पुर्याएको छ । छोटेपादेखि नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित नीलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पु¥याउन काम शुरु गरिएको छ ।
डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११.५ किलोमिटर सडक निर्माण गरिएको हो । रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानी नजीकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ ।




