पुरुष भलिबल उपाधीका लागी गण्डकी प्रदेश आर्मीसंग भिड्दै

प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागी गण्डकी प्रदेशले आज विभागीय त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्दै छ ।

खेल सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा अपरान्ह ४ बजेपछि शुरु हुने आयोजक नेपाली सेनाले जनाएको छ । आर्मी समुह ‘क’ बाट तथा गण्डकी समूह ‘ख’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पग्न सफल भएको थियो ।गतवर्ष पनि यि दुई टोलीले फाइनल खेल खेलेको थियो । जसमा आर्मी विजयी भएको थियो ।

सेनाले यसअघि टाइसिटमा २६ गते आइतबारलाई फाइनल खेल तय भएपनि प्राविधिक कारण एक दिन पछि सारेको हो । तर, सेमिफाइनलमा दुवै टोलीले समूह विजेता पुलिस र एपीएफलाई पन्छाउदै फाइनलमा पुग्न सफल भएको थियो । पुलिसले एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रा स्थान हात पारिसकेको छ ।

आयोजक आर्मी लगातार चौथो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ । आर्मीसँग स्टार स्पाइकर मानबहादुर श्रेष्ठ टोलीमा फर्किएका छन् । उनी दुई प्रतियोगिताको प्रतिबन्धपछि टोलीमा फर्किएका हुन् । यस्तै मिसनबाट फर्किएको हरिहजुर थापाले पनि उच्च प्रदर्शन गरिरहेका छन् । हरि अधिकारी, धन बहादुर भट्ट क्षेत्री, भैरव वम, नरेन्द्र गिरी जस्ता नाम चलेका खेलाडीको साथ आर्मीलाई रहेको छ ।

यता युवा खेलाडीको बाहुल्यता रहेको गण्डकीले सेमिफाइनलमा विभागीय नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष फाइनलमा पुग्न सफल भएको थियो ।गण्डकी यसपटक अघिल्लो संस्करणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । सन्जुविक्रम शाहको कप्तानीमा रहेको गण्डकीसँग हरि पाण्डेको साथ रहेको छ । यस्तै युवा खेलाडीहरु योकेन्द्र गुरुङ, याम क्षेत्री, कमल सुनार, राजन दर्लामी मगर र सुजन चोखालको साथ रहेको छ । उनीहरुले यो प्रतियोगितमा निकै उच्च प्रदर्शन गरिरहेका छन् ।

दुवै टोलीमा स्टार खेलाडीहरुर रहेकाले फाइनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै उप विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले ७५ हजार हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

१९ जेठबाट लिग कम नकआउटको आधारमा शुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीले प्रतिस्पर्धा गरेका थिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।