चितुवा आक्रमण ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि रु ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ ।

बरालले चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाको परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए । आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको शुक्रबार राति मृत्यु भएको थियो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा रु एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ ।