धादिङ कांग्रेसको भवन बनाउन १ लाख रुपैयाँ हस्तान्तरण

नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिले नेपाली कांग्रेस धादिङलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । धादिङ कांग्रेसद्वारा निर्माणाधिन विपि स्मृति भवनका लागि समितिले १ लाख १ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल सामु समितिका सभापति लालप्रसाद पाठक, वरिष्ठ उपसभापति यादुप्रसाद ढकाल, सचिव माधव लम्साल लगायतले धादिङ कांग्रेसका सभापति रमेश धमलालाई सहयोग रकमको चेक हस्तान्तरण गरे । रकम हस्तान्तरणका लागि समिति सभापति लालप्रसाद पाठकको नेतृत्वमा २५ सदस्यीय टोली शनिबार धादिङ पुगेको थियो ।

भवन निर्माणका लागि समितिले २ वर्ष अघि सहयोगको घोषणा गरेको थियो । विपि स्मृति भवन निर्माणको अन्तिम चरणमा पुगेको पार्टी सभापति धमलाले जानकारी दिए । २ वर्ष अघि उक्त भवनको शिलान्यास पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए ।

जागरण अभियान समापन
नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं जागरण अभियानका लागि धादिङ जिल्लाका केन्द्रिय प्रतिनिधि प्रदीप पौडेलले निर्वाचनमा गणितीय हिसावका पराजित भए पनि नेपाल कांग्रेस शान्ति, विकास र समृद्धिको मुद्धामा कमजोर नबनेको बताएका छन् ।

‘हिमाल पहाड तराइ मधेश ः नेपाली कांग्रेस’ भन्ने नाराका साथ १ महिनाभर चलेको पहिलो चरणको जागरण अभियान समापन कार्यक्रममा नेता पौडेलले वर्तमान कम्युनिष्ट सरकारले कांग्रेस सकिएको भनेर हल्ला फिजाए पनि नेपाली कांग्रेसको एजेण्डा र अभियानले नै कांग्रेस झनै बलियो भएको दावी गरे ।

नेपाली कांग्रेसकै नेतृत्वमा देशमा शान्ति स्थापना गरि संविधान जारी भएपश्चात भएको निर्वाचनमा २ कम्युनिष्ट भन्नेहरूको गठबन्धनका कारण गणितीय हिसावमा पराजित भए पनि आफ्नो एजेण्डा र राष्ट्रको समृद्धि अभियानमा वाम गठबन्धन भन्दा कांग्रेस नै अघि रहेको दावी गरे ।
निर्वाचन जितेर पनि जनतका लागि कुनै लोकप्रिय काम गर्न नसकेको र यही सकारका पालामा ठूला ठूला भ्रष्टाचार र घोटाला काण्ड मच्चिनुले पनि कम्युनिष्टले देश बनाउन नचाहेको पुष्टि हुने नेता पौडेलले ठोकुवा गरे ।

नेता पौडेले भने, ‘झण्डै झण्डै २ तिहाइ बहुमतको सरकार छ । किन लोकप्रिय काम गर्न सक्दैन वर्तमान सरकार ? सरकारको कामममा प्रतिपक्षीले अवरोध नगर्दा पनि आन्तरिक कलह र भ्रष्टाचारमा डुवेकाले केही काम गर्न नसकेको हो ।’

उनले निवार्चन पछि नेपाली कांग्रेसका कार्यकर्तामा उत्साह बढाउन र वर्तमान सरकारको जनविरोधी कामलाइ भण्डाफोर गर्नको लागि जागरण अभियान सफल भएको पनि दावी गरे । धादिङ जिल्लाका १ सय ४ वटै वडामा कांग्रेसको छाया सरकार बनेकाले सरकारका तल्लो तहले गर्ने हरेक क्रियाकलापलाई नेपाली कांग्रेस सुक्ष्म अध्ययन गरिरहेकाले सचेत भएर काम गर्न नेता पौडेलले चेतावनी दिए ।

धादिङ कांग्रेसका सभापति रमेश प्रसाद धमलाले पहिलो चरणको जागरण अभियान सफलतापूर्वक सकिएको बताए । नेपाली कांग्रेसले लिएको नीति अनुसार कार्यकर्तामाझ उत्साह भर्न र वर्तमान सरकारको भ्रष्टाचार, घोटाला र जनविरोधी हर्कत गाउँगाउँसम्म पु¥याउन जागरण अभियान सफल भएको बताए । अब दोस्रो चरणको अभियान केही समयमा सुरु हुने भएकाले नेता कार्यकर्तालाइ तयारी अवस्थामा रहन पनि सभापति धमलाले निर्देशन दिए ।

कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेताहरू दिलमान पाख्रिन, रामनाथ अधिकारी, भीम प्रसाद ढुङ्गाना, विश्व अर्याल, राजन बराइली लगायतले बर्तमान सरकार कांग्रेसका नेता कार्यकर्तालाइ झुटो मुद्धा लगाएर फसाउन उद्धत रहेको आरोप लगाए ।

केही दिनअघि नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधे भण्डारी पक्राउ गरेकोतर्फ लक्षित गर्दै पूर्व सभापति रामनाथ अधिकारीले भने, ‘नेपाली कांग्रेसको विचार र आस्था बोक्ने नेताकार्यकर्तालाई किर्ते कागजात बनाएर फँसाउन लागिएको छ ।’ निर्दोष र घटनामा सलग्न हुँदै नभएका भण्डारीलाई तत्काल रिहा गर्न नेता अधिकारीले चेतावनी दिए ।