पार्टी निर्वाचनको ढोल पिट्ने बेला भएको छैन : डा. महत


नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अब दोस्रो र तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेशको निर्वाचन क्षेत्र र नगर एवं गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन गर्ने जानकारी दिए ।

उनले पार्टीको आन्तरिक निर्वाचन समय आएपछि हुने भन्दै अहिले नै निर्वाचनका लागि ढोल पिट्ने बेला नभएको स्पष्ट पारे । नेता महतले यस जागरणको माध्यमबाट पार्टीको आदर्श, सिद्धान्त र उपलब्धिको विषयमा जनतालाई सुसूचित गराउँदै पार्टीलाई सशक्त र बलियो बनाउने उद्देश्य रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेसलाई एकताबद्ध हुनुपर्ने र व्यक्तिवादी चरित्रलाई हतोत्साहित गरी संगठनलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उनले वाइड बडीलगायतका भ्रष्टाचारका काण्डमा संवैधानिक निकायबाट सुक्ष्म ढंगले छानबिन हुनुपर्नेमा जोड दिए ।

नेता महतले वर्तमान सरकार अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संथालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचारमा जुटेको आरोप लगाए । उनले प्रश्न गरे, ‘अरबौं रुपैयाँ भ्रष्टाचार भएका मुद्धा बाहिर आउँदा समेत अख्तियार लगायतका संस्था मौन बस्छन् यो केको संकेत हो ?’

पत्रकारद्वारा सोधिएको जिज्ञासामा उनले २ अंकको वार्षिक वृद्धि दरमा पुग्नका लागि विदेशी र स्वदेशीको लगानीमा वृद्धि हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा त्यसो नभई वैदेशिक लगानी घटेकाले सो लक्ष्य पूरा गर्न सरकारलाई कठिनाइ हुने सम्भावना रहेको बताए ।

पूर्वमन्त्री समेत रहेका महतले भ्रष्टचारी पार्टी कै सभापति भए पनि छाडेन नहुने बताए । उनले भने, भ्रष्टाचारमा सरकार आफै संलग्न छ, उसले छानविन समिति बनाउने त कुरै भएन, भ्रष्टाचार गर्ने मन्त्री र नेताको समेत बचाउ गर्छ, तर भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पनि मौन बस्नु विडम्वना हो ।

नेता महतले प्रधानमन्त्री ओलीले कुरा गर्ने काम नगर्ने प्रवृत्ति देखिएको बताए । उनले भने, ‘आम जनताले वर्तमान सरकारबाट समृद्धिको आशा गर्नु ठूलो भुल हुनेछ ।’ सरकारबाट जनताले जुन आशा गरेका थिए त्यो आशा र अपेक्षा पुरा हुन् नसक्ने उनले दावी गरे ।

उनले देशमा असुरक्षा, मजदुर आन्दोलन, लगानी मैत्री वातावरण नहुनुको साथै नेताको व्यक्तिगत सेवा सर्त पूरा गर्नुपर्ने भएकाले विदेशी लगानीको त कुरै छाडौ स्वदेशी लगानी कर्ता समेत लगानी गर्न अघि नसरेको स्पष्ट पारे ।

साथै प्रेसमाथि अंकुश लगाउने सरकारको शैलीप्रति पनि उनले विरोध गरे । उनले संसदमा पेश गरिएको मिडिया काउन्सिल विधेयकलाई नेपाली कांग्रेसले कुनै पनि हालतमा पास गर्न नदिने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसलाई बलियो बनाउन अब कांग्रेसका हरेक कार्यकर्ता व्यक्तिवादी प्रवृति छाडेर कांग्रेसको सिद्धान्त अनुसार अगाडि बढ्न जरुरी रहेको बताए । व्यक्तिवादी चरित्रले कांग्रेस कमजोर र निर्वाचनमा पराजय भोग्नु परेको भनाई भट्टराईको थियो । कार्यक्रम प्रेस युनियन कास्कीका सचिव प्रदिप पौडेल सञ्चालन गरेको थिए ।