एनआरएन फेमली कार्डको सुरुवात,यस्तो छ सदस्यता लिने प्रकृया

गैरआवासीय नेपाल संघ (एनआरएन) ले फेमली कार्डको सुरुवात गरेको छ । संघले एनआरएनका पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी एनआरएन फेमली कार्डको औपचारिक सुरुवात गरेको हो ।

यो कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने तर विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू नहुने संघले जानकारी दिएको छ ।

संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ । जस अन्तर्गत ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् ।

कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् ।

कार्डको म्याद २ वर्षको हुनेछ । त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्नेछ । यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्नेछ ।