पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक छ

पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो ।

पशुको स्वास्थ्य परीक्षणमा देखिएको जुका, चुर्नालगायत विभिन्न खालका परजीवीका कारण उत्पादनमा कमी आउनुका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङले कृषकहरूलाई पशुका लागि आवश्यक औषधि वितरण गर्दै गोठदेखि ओठसम्म शुद्धताको खाँचो आवश्यक रहेकामा जोड दिए ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घ नेपालका महासचिव सुरेशकुमार श्रेष्ठले उत्पादनमा वृद्धि र कृषकको समृद्धिका लागि ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा पशु तथा कृषि प्राविधिकको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

शिविरमा पशुको शारीरिक विकास र परजीवी नियन्त्रणका साथै बाँझोपनबाट जोगाउने खालका रु ४० हजार मूल्य बराबरका विभिन्न औषधि कृषकलाई निःशुल्क वितरण गरिएको थियो ।