पक्राउ परेका विप्लवका कार्यकतामाथि सार्वजनिक मुद्दाको तयारी

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ बाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकतालाई अनुसन्धानपछि मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले कास्कीमा विप्लव नेतृत्वको नेकपाको गतिविधि हुने क्षेत्र अन्नपूर्ण गाउँपालिकाबाट जिल्ला सेक्रेटरी विवेक भण्डारी ९आक्रोस० सहित १८ जनालाई शनिबार साँझ ६ बजे पक्राउ गरी राति नै पोखरा ल्याएको हो ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पक्राउ परेकाहरूबारे विभिन्न घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा यसअघि नै उजुरी रहेको उनले जानकारी दिए। पक्राउ परेका केहि भने साधारण तारेखमा पनि छुट्न सक्ने उनको भनाई छ।

शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा विप्लव नेतृत्वको नेकपाको विशेष बैठक बसिरहदा कास्की प्रहरीले घेराहाली १८ जनालाई पक्राउ गरेको थियो। उक्त बैठकबारे पहिले नै जानकारी पाएको कास्की प्रहरीले गस्ती बढाएको थियो।

यता विप्लव नेतृत्वको नेकपा कास्कीले भने आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै पक्राउ परेकाहरू सबैलाई तत्काल विनाशर्त रिहा गर्न पनि माग गरेको छ। जिल्ला इन्चार्ज रूपेसले हस्ताक्षर गरेको विज्ञप्तिमा जिल्ला सेक्रटेरी २२ जनालाई पक्राउ गरिएको दावी गरेको छ भने जिप्रका कास्कीले १८ जना भएको बताएको छ ।