सरकारद्धारा चार देशको लागी राजदूत सिफारिस,को को परे ?

सरकारले कतारसहित चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रि परिषदको बिहीबार बसेको बैठकले कतारका लागि डा. नारद वाग्ले भारद्वाज, बंगलादेशका लागि डा. वंशीधर मिश्र, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावाफुटी शेर्पाको नाम संसदीय सुनुवाइका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले कतारबाट राजदूत रमेश कोइराला, बंगलादेशबाट डा.चोपलाल भुसाल र स्पेनबाट भरत रायमाझीलाई फिर्ता बोलाएको थियो । अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाले भने राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन ।

दक्षिण कोरिया र दक्षिण अफ्रिकामा भने अझै राजदूत खाली छ । यस्तै अमेरिकाका लागि राजदूत डा. अर्जुन कार्कीको पदावधि सकिए पनि अर्को व्यवस्था नभएसम्मका लागि कार्यविधि थपिएको छ ।