म्याग्दीलगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएको छ । ग्रामीण क्षेत्रका महिलाको आयआर्जन सुधार गरी आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ देखि कार्यक्रम शुरु गरिएको हो ।
कृषि, पर्यटन, पशुपालन र सीपमूलक उद्यम व्यवसाय सञ्चालनमा सघाउन महिलाले सञ्चालन गरेका सहकारी, समूह र संस्थालाई अनुदान उपलब्ध गराइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले जानकारी दिएका छन् ।
उनका अनुसार यस वर्ष ४७ समूह र संस्थालाई कार्यक्रम सञ्चालनका लागि रु छ लाख ५० हजारका दरले रु ३० करोड ५५ लाख अनुदान उपलब्ध गराइएको छ । कार्यक्रमबाट म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ साझापानीको सिर्जनशील आमा समूह, बेनीको नारी जागृति र बाबियाचौरको जनआदर्श महिला सहकारी संस्थाले अनुदान पाएका छन् ।
सिर्जनशील आमा समूहमा आवद्ध ३० महिलाले सामूहिक तरकारी खेती शुरु गरेका अध्यक्ष सन्तु भण्डारीले बताए । मन्त्रालयले उपलब्ध गराएको अनुदान र समूहको कोष परिचालन गरेर मौसमी र बेमौसमी तरकारी खेती शुरु गरिएको उनको भनाई छ ।




