४ नेपाली लिवियामा बिद्रोही संगठनको कब्जामा,चरम यातनामा जीवन जिउदै

धेरै पैसा कमाई सुखी जीवन जिउने सपना बोकेर बिदेशीएका नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । बाध्यताका बीच जीवनलाई धरापमा पारी द्धन्द ग्रस्त देशमा समेत नेपालीहरु पुगिरहेका छन् भने कोही अज्ञानता बस त्यहाँ पुगेका छन् ।

यसैबीच ४ जना नेपाली युवाहरु द्धन्दग्रस्त देश लिवियामा बन्धक बन्न पुगेका छन् । उनीहरुलाई लिबियाको बिद्रोही संगठन मिलिसियाले बन्धक बनाएर राखेका हुन् । बन्धकमा परेकाहरुमा लम्जुङका पुर्ण प्रसाद अधिकारी , राजकुमार गुरुङ ,दिनेश खत्री र चितवनका नेत्र भट्टराई रहेका छन् । जहाँ उनीहरुलाई चरम यातना दिएको पुर्ण प्रसाद अधिकारीले न्युजट्वीन्टी फोरलाई जानकारी दिएका छन् ।

उनीहरुको हात खुट्टाको नङ उप्काई दिने , शारिरिक यातना दिने देखि लिएर आँखै अगाडी मान्छे मारेर समेत देखाउने गरेको बताए । पैसा नदिए मारिदिने धम्कीसमेत दिएको बताएका छन् । ती नेपालीहरु बिद्रोही संगठनको कब्जामा भएकोले पनि उनीहरुको उद्धारमा कठिनाई भईरहेको अधिकारीहरुले जनाएका छन् ।

यता लिवियामा नेपालको कुनै पनि निकाय नभएकोले उनीहरुको उद्धारका लागि इजिप्टका लागि नेपाली राजदूत झपिन्द्र प्रसाद अर्यालले बन्धक भएकाहरुको उद्धारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै राजदूत अर्यालले धेरै कमाउने लोभमा लिविया , सिरिया , अल्जेरिया , सुडान लगायत द्धन्द ग्रस्त देशमा नजान आग्रह गरेका छन् । त्यतीमात्र होईन राजदूत अर्यालले अन्य देशको रोजगारीमा जानका लागि यी देशहरुमा ट्रान्जिटको यात्रासमेत नगर्न आम जनतामाझ आग्रह गरेका छन् ।