संरक्षणको अभावमा शहरी क्षेत्रका चौतारा लोप हुँदै गएको वास्तविकतामा पोखराका दुई संस्थाको अगुवाइमा गरिएको बुटिक चौतारी निर्माण यतिखेर उदाहरणीय बनेको छ ।
पोखराको हरियाली एवं वातावरणीय सुन्दरतासँगै पैदलयात्रीको विश्रामस्थलका रुपमा लिइएका बुटिक चौतारी सडकको दायाँबाँया निर्माण गरिएका हुन्।
सिद्धार्थ राजमार्गसँग जोड्ने मुख्य सडकखण्डको नागढुङ्गादेखि पृथ्वीचोकसम्म ७०० मिटर लम्बाइ क्षेत्रमा लगभग रु आठ लाखको लागतमा कूल ८७ चौतारा निर्माण गरिएका छन् ।
पोखरा महानगरपालिका वडा नं ८ र ९ को सिमानास्थित सडकको पश्चिमतर्फ महानगरको रु दुई लाख र वडास्तरीय बजेट रु दुई लाख जनसहभागितामा ४४ चौतारी निर्माण गरिएका नागढुङ्गा चौतारी उपभोक्ता समितिका अध्यक्ष विनोद लामिछानेले जानकारी दिए ।
उनका अनुसार साना–साना एकै खालका गोलाकार ढुङ्गाबाट निर्माण गरिएका प्रत्येक चौतारी दुई फिट उचाइ र सात फिट गोलाइका छन् । सडकको दुवै किनाराका फुटपाथमा कपुर, एभोकाडो, लिची, अम्बा, आँप, हलुवावेद, कल्की, निम, चाँपलगायतका सदाहार प्रजातिका बिरुवा लगाइएको बताउँदै उहाँहरुले बिरुवा र चौतारीको संरक्षण चुनौतीपूर्ण रहेको जानकारी दिए ।




