गण्डकीमा जटिल अवस्थाका गर्भवती र सुत्केरीलाई एअर लिफ्टिङ

गण्डकी सरकारले दुर्गममा गर्भावस्था तथा जटिल प्रसवको कारण स्वास्थ्यसम्बन्धी जटिलता भएका गर्भवती, सुत्केरी आमा तथा बच्चाको जीवन रक्षाका लागि सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन एयर लिफ्टिङ गर्ने भएको छ ।

स्थानीय तहसँग समन्वयमा गरी सुत्केरी हुने घर घरमा स्वास्थ्यकर्मी सेवा सुरुआत गर्ने प्रदेशको योजना छ । प्रदेशमा जनस्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रवाह गर्न प्रदेश स्वास्थ्य नीति तर्जुमा गरिने भएको छ । मुटु, मृगौला र क्यान्सर रोगको उपचारको लागि विशिष्टिकृत अस्पतालको निर्माण गर्ने नीतिलाई यस वर्ष पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नसर्ने रोगको वृद्धिदर नियन्त्रणका लागि जनचेतनामूलक अभियान सञ्चालन गरिनेछ ।

संघ र स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य बिमा कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाइनेछ । क्यान्सर, मुटु, मृगौला, सिकल सेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीको उपचारका लागि अति गरीब बिरामीलाई आर्थिक सहयोग गर्ने गण्डकी सरकारले जनाएको छ ।

आयुर्वेद अस्पतालमा स्थानीय जडीबुटीबाट पञ्चविद कषाय कल्पना तयार गरी उपलब्ध गराउने व्यवस्था मिलाउने र आयुर्वेद, योग र प्राकृतिक चिकित्साको एकीकृत सेवासहितको प्रादेशिक आयुर्वेद अस्पताल निर्माण आगामी आर्थिक वर्षमा सुरु गर्ने प्रदेशको योजना छ ।