माछापुच्छ«े गाउँपालिकाले विपन्न तथा गरिब घरपरिवार छनोट गरी उनीहरुको निशुल्क स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले चालु आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बिमा गरिएको छ ।
विपन्नताका कारण स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरिब परिवार यकिन गरी यही जेठ महिनाबाट लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बिमामा आबद्ध हुँदा लाग्ने योगदान रकम पालिकाले नै भुक्तानी गरेको गाउँपालिका प्रमुख कर्ण गुरुङले बताए । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिलाल आचार्यका अनुसार उनीहरुको बिमाका लागि गाउँपालिकाले ३ लाख ७७ हजार ९ सय ५० योगदान गरेको छ । गाउँपालिकाका ९ वटै वडाबाट स्वास्थ्य बिमामा सहभागी हुन नसकेका विपन्न र अति गरीब परिवारको बिमा गर्ने योजना अनुसार चालु आवकोे नीति तथा कार्यक्रममा उल्लेख गरेर बिमाका लागि ५ लाख बजेट छुट्याइएको थियो ।
बाँकी ३ वडालाई पनि आगामी साउनदेखि बिमा सहभागी गराउने तयारी भएको छ । प्रत्येक वडा कार्यालयले वडा अन्तर्गतका गरिब पहिचान गरी उनीहरुबाट आवेदन दर्ता गरेर त्यस्ता परिवारको आम्दानी, रोजगारीको अवस्था, ज्याला, विप्रेषण (रेमिट्यान्स) तथा ऋण उपभोगका आधारमा त्यस्ता परिवार छनोट गरिएको आचार्यले बताए ।
संघीय तथा प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका लाभग्राही भने यस कार्यक्रममा सहभागी नगरिएको र गरिब, विपन्न तथा अन्य लक्षित वर्गका परिवारले बिमा कार्यक्रमको योगदान रकममा अनुदान माग गर्दा परिवारका सदस्य, उनीहरुको नाममा रहेको घरजग्गाको विवरण, गरगहना र बैंक तथा वित्तीय संस्थामा ऋण लिए÷नलिएको लगायतका विवरणका आधारमा परिवार छनोट गरिएको गाउँपालिकाले जनाएको छ । कास्कीमा स्वास्थ्य बिमा गरेका नागरिकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उपचार सेवा लिने गरेका छन् ।





