गण्डकी सरकारले प्रर्यटन प्रवद्र्धनबाट समृद्धि खोज्न विभिन्न योजना सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रममा प्रदेशको पर्यटनलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाउन डिजिटल पर्यटन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
प्रदेशका उत्पादन तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न विश्वका प्रमुख भाषामा वेब पोर्टल निर्माण गरी सञ्चालन गरिने भएको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन भइरहेका छन् । सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन गरी सन् २०२२ सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रचारप्रसार, बजार प्रवर्द्धन तथा पूर्वाधार निर्माणमा जोड दिने योजना सरकारले सार्वजनिक गरेको छ ।






