आज पनि भीषण हुरीको सम्भावना,मौषविद्हरुको यस्तो छ सुझाव

जल तथा मौसम पूर्वानुमान महाशाखका मौसमविद्ले बिहीबार साँझ कैलाली/कञ्चनपुरमा आएजस्तो भीषण हावाहुरी कतिखेर, कहाँ आउँछ ठ्याक्कै अनुमान गर्न नसकिने बताएका छन्।

मौसमविद् सुवास रिमालका अनुसार आज (शुक्रबार) पनि यस्तो हावाहुरी आउँछ वा आउँदैन यसै भन्न गाह्रो छ।

मौसमविद् रिमालका अनुसार आज खासगरी काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा मौसम बदली हुने देखिएको छ। अपराह्नपछि बदली भई वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना छ।

यसैकारण खासगरी कालो घना बादल लागेका क्षेत्रका बासिन्दाले सावधानी अपनाएकै राम्रो हुने मौसमविद् रिमालको सुझाव छ। नेपालमा प्रविधि पनि कम रहेको तर प्रविधि भएकै विकसित देशमा पनि यस्तोखाले प्रणालीको पूर्वानुमान ठ्याक्कै गर्न नसक्ने उनको दाबी छ।

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार साँझ कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको मौसविद्को भनाइ छ।