डुंगा दुर्घटनामा मर्ने पर्यटकको संख्या १५ पुग्यो,१३ जना अझै बेपत्ता

हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुंगा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या १५ पुगेको छ ।

दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो संख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको हो ।

दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुंगा एक साता अगाडि पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले सो समयमा जानकारी दिएका थिए।

सो डुंगामा ३३ जना दक्षिण कोरियाली पर्यटक सवार रहेको सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको थियो। हराइरहेका २१ व्यक्तिमा पनि प्रायःदक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले बताएको छ।