पुरुष नर्सद्वारा ८५ बिरामीको हत्या

जर्मनीका अस्पतालमा ८५ जना बिरामीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एक जना पूर्व नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ ।

ओल्डेनवर्गको अदालतका न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ८५ जना बिरामीको हत्याको अभियोग लागेको पूर्व नर्स निल्स हुगललाई आजीवन कैदको सजाय सुनाएका हुन् ।

पूर्व नर्स हुगलले दुई वटा अस्पतालका ८५ जना बिरामीको हत्या गरेको ठहर अदालतले गरेको हो । यसअघि पनि दुई जनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५ सम्म आफ्नो संरक्षकत्वमा रहेका मानिसलाई मुटु रोगसम्बन्धी औषधिको घातक मात्रा दिएको पाइएको थियो ।

उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्तिको रूपमा समेत लिइएको छ । ४२ वर्षीय नर्स निल्स हुगलले प्रशंसा पाउन र सबैको नजरमा नायक बन्नका लागि सुरुमा बिरामीलाई हृदयाघात हुने खालको औषधि दिने र त्यसपछि ती बिरामीलाई बचाउने कोसिस गर्दथे ।

उनले आफ्ना सहयोगीलाई प्रभावित गर्नका लागि बिरामीलाई पुनर्ज्विित बनाउने कोशिस गर्दथे । हुगललाई ‘पुनः जीवित गर्ने रेम्बो’ को उपनाम दिइएको थियो ।