कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
बिहीबार बेलुकी हावाहुरी चलेपछि टीकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको हो ।
यस्तै त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । हावा हुरीका कारण एक सय जति घाइते भएका छन् । घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएका छन् । हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यका अनुसार, २३ जना घाइते भएका थिए । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको उनले बताए । एसपी आचार्यका अनुसार, घाइतेमध्ये एक गम्भीर भए पनि बाँकीको अवस्था मध्यम छ ।
हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएको पीडितहरुले बताएका छन् ।





