पोखरा महानगरको आपत्ति

कास्कीको मादी गाउँपालिकास्थित सिद्ध आधारभूत विद्यालयको खेलमैदान निर्माण गर्दा भएको भष्ट्राचारमा कर्मचारी मुछिएकोसम्बन्धी समाचारमा पोखरा महानगरपालिकालाई जोडेकोमा महानगरले ध्यानाकर्षण भएको जनाएको छ ।

महानगर प्रवक्ता धनबहादुर नेपालीले बिहीबार जारी गरेको विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रालयबाट विनियोजित बजेट दुरुपयोगमा मुछिएका कर्मचारी तत्कालीन समयमा पोखरा महानगरपालिकामा कार्यरत नभई जिल्ला समन्वय समितिमा रहेको र समायोजनपछि मात्र महानगरमा आएको स्पस्ट पारिएको छ ।
‘उक्त भष्ट्राचारमा मुछिएका कर्मचारी पोखरा महानगरमा आउनुभन्दा अघिको कामसँग सम्बन्धित भएकाले सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

आरोप लागेकामध्ये २ कर्मचारी हाल यस महानगरमा कार्यरत रहेको र १ कर्मचारी सरुवा भइसकेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त हुने पत्र अनुसार कानुन बमोजिम प्रक्रिया अगाडि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।