बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् ।
व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैँचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र बिक्री गरिएको अलैँचीको समेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको हुन् ।
दमेकका कृषक बलिभद्र सापकोटाले अलैँचीले उचित मूल्य नपाउँदा किसानको दुःख खेर गएको प्रतिक्रिया दिए । व्यावसायिक रुपमा अलैँचीका बिरुवा बेच्दै आएका सापकोटाले यस वर्ष अलैँचीको दानालाई प्रतिकेजी रु ८०० मा बेच्न बाध्य भएको बताए ।
छिमेकीमुलुक भारतमा प्रतिकेजी रु तीन हजार २०० मा बिक्री भइरहँदा आफूहरुले मनग्य आम्दानी हुने देखेर अलैँची लगाएको बताउँदै अर्का कृषक मदु अम्बाइले अलैँचीको मूल्य घट्दा समस्यामा परेको उल्लेख गरिन् ।
महत्वपूर्ण र महङ्गो मसलाका रूपमा प्रयोग हुने अलैँची खास गरी भारतमा निर्यात हुने गर्दछ । अलैँचीको सुगन्धित बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेलसमेत बन्ने गर्दछ । मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन अलँैचीको तेल प्रयोग गरिने बताइन्छ । युर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिने बताइन्छ ।
जैमिनी नगरपालिकाका–२ र ३ का अधिकांश बाँझो जग्गामा करीव २०० रोपनी क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।




