होमस्टे अनुदान : टाँठाबाँठाको मनपरी

मादी गाउँपालिका २ मा पर्ने ताङतिङ गाउँ सुन्दर छ । सुन्दर गाउँ र गुरुङ संस्कृतिमा रम्न पुग्ने पर्यटकलाई लक्षित गरी यहाँ ताङतिङ सामुदायिक होमस्टे सञ्चालनमा छ । गण्डकी सरकारले यो आर्थिक वर्ष स्थानीयलाई स्वरोजगार बनाउन र ग्रामीण अर्थतन्त्रमा टेवा सामुदायिक होमस्टेलाई अनुदान दिने व्यवस्था गरेको छ ।

यही व्यवस्था अन्तर्गत यो होमस्टेले पनि १० लाख अनुदान पाएको छ । तर होमस्टेले पाएको अनुदान भने होमस्टेमा हैन, अन्तै खर्च गरिँदैछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जारी गरेको होमस्टे सञ्चालन कार्यविधि २०७५ अनुसार अनुदान होमस्टेका पूर्वाधार निर्माणमा खर्च गर्नुपर्छ ।

वडाध्यक्ष एकजंग गुरुङले वडा, गाउँपालिका, पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयसहित होमस्टे सञ्चालककै सहमतिमा अनुदानबाट पिकनिक स्पट बनाउन लागिएको दाबी गरे । उनले भने, ‘सबैको सहमतिमा त्यसको आम्दानी होमस्टेले नै पाउने गरी बनाउन लागेका हौं ।’ होमस्टेमा आउने धेरै पाहुनालाई समूहमा खान ख्वाउन त्यो ठाउँ उपयुक्त हुने उनको दाबी छ ।

वडाध्यक्ष एकजंगले यस्तो दाबी गरे पनि पिकनिक स्पटमा होमस्टेका पाहुनालाई खाना ख्वाउन मिल्ने अवस्था देखिँदैन । होमस्टेबाट पिकनिक स्पट करिब २ किमी टाढा कुलको डाँडामा बनाउन लागिएको छ । उनले पिकनिक स्पटको योजना पनि बनिसकेको उल्लेख गरे । राम्रो बाटोसमेत नभएको त्यो ठाउँ डोजर लगाएर सम्याइसकिएको छ ।

अनुदान निकाल्नका लागि छुट्टै बैंकका खाता खोलिएको छ । होमस्टेका संस्थापक अध्यक्ष दुजमाया गुरुङ नयाँ समिति बनाउने भनी माइन्युट उठाएर आफूकहाँ ल्याएको बताउँछिन् । उनले १० लाख रुपैयाँ भए गाउँका होमस्टेको रुपै फेरिने बताइन् । पूरै रकम नदिने भए आधा होमस्टेलाई दिन माग गर्दा पनि नपाएको उनको भनाइ छ ।
होमस्टे अध्यक्ष पसमाया गुरुङले वडाध्यक्ष लगायत गाउँका जान्नेसुन्नेहरुले अनुदानबाट पिकनिक स्पट नै बनाउनुपर्ने बताएको नेपालदुतलाई जनाइन् । उनले भनिन्, ‘हो सर, पिकनिक स्पट बनाउने हो । गाउँका ठूला मान्छेहरुले त्यही भन्यो । मान्नै प¥यो ।’

यहाँका १३ घरका होमस्टेमा करिब ७० जना बास बस्न मिल्छ । शौचालय, कोठाहरु नै सुधार गर्नुपर्ने अवस्था छ । होमस्टे प्रवद्र्धन भने पनि यहाँका टाठाबाँठाले होटल चलाएर, होमस्टेलाई ओझेलमा पारेका छन् । ताङतिङ झर्नेबित्तिकै केही होटल भेटिन्छन् । एक स्थानीयले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, ‘चल्तापुर्जाले गाउँको मुखैमा होटल चलाएका छन् । होमस्टे आउने पाहुनालाई झर्नेबित्तिकै यहाँ यस्तो छ, होमस्टे राम्रो छैन भनी उतै रोक्छन् ।’

यो वर्ष सामुदायिक होमस्टेमा पर्यटन पूर्वाधारसम्बन्धी योजनामा ३० करोड विनियोजन गरेको थियो । ३ सय होमस्टेलाई सघाउन यो रकम विनियोजन भएको हो । यो रकमबाट स्थानीय तहसँगको सहकार्यमा होमस्टेमा पर्यटन पूर्वाधार विकास गर्न पुँजीगत अनुदान दिने मन्त्रालयले जनाएको छ ।