मेडिकल कलेज सञ्चालक भन्छन्– तोकेभन्दा बढी शुल्क लिएकै हो

विद्यार्थीसँग बढी शुल्क असुलेर विवादमा तानिएका मेडिकल कलेजहरूले तोकेभन्दा बढी शुल्क लिएको स्वीकार गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले बुधबार डाकेको छलफलमा सहभागी मेडिकल कलेज सञ्चालक तथा प्रतिनिधिले सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिएको खुलेआम स्विकारेका हुन् । उनीहरूले सरकारले तोकेको शुल्कमा कलेज चलाउन नसक्ने बताए ।

‘महँगी बढेको छ । फ्याकल्टी पाइँदैन । त्यसैले थोरै पैसामा मेडिकल कलेज चलाउन मुस्किल पर्छ,’ जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेले भने । विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले मेडिकल पढ्दा स्वाभाविक रूपमै बढी खर्च हुने दाबी गरे । ‘चलाउनका लागि मात्र चलाउनु ठीक होइन, गुणस्तर पनि दिनुपर्‍यो, खर्च त भइहाल्छ नि,’ उनले भने, ‘हाम्रो त अहिले विद्यार्थी पनि ७५ जना छन् । सयसम्म विद्यार्थी आउँछन् भनेर सुनेको मात्र हो, देखेको छैन । अब भन्नुस् त कम खर्चमा कसरी पढाउने ?’

लुम्बिनी मेडिकल कलेजका सिइओ सन्तोषलाल श्रेष्ठले पनि नेपाली विद्यार्थीसँग ४७ लाख ९० हजार र भारतीय विद्यार्थीसँग भारु ४० लाख शुल्क लिएको स्वीकार गरे । ‘यही शुल्कले कलेज चलिरहेको छ । नत्र मुस्किल पर्छ,’ उनले भने ।

यो रकम सरकारले निर्धारण गरेभन्दा बढी हो । २८ असोज ०७५ मा सरकारले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह र एमबिबिएस विद्यार्थीका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार तथा उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको थियो । 

तर, विद्यार्थीबाट शुल्क उठाउँदा हिनामिना नगरेको उनीहरूको दाबी छ । व्यक्तिको खातामा कलेजले पैसा हाल्न नलगाएको मणिपाल कलेजका प्रशासन प्रमुख गौरव यादवले बताए । ‘शंका लागे छानबिन गर्नुस्,’ उनले सांसदहरूलाई चुनौती दिए । 

त्यस्तै, लुम्बिनी मेडिकल कलेजका राजीव द्विवेदीले आफूहरूलाई पैसा कमाउन मात्रै बसेको भनेर आलोचना गरिएकोमा आपत्ति जनाए । ‘हामी मेडिकल कलेजहरूलाई त पैसा कमाउन बसेजसरी बुझिएको छ, त्यस्तो होइन,’ उनले भने । 

मेडिकल कलेजहरूले मनोमानी शुल्क उठाएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले छानबिनका लागि नौ सदस्यीय उपसमिति गठन गरेको थियो । छानबिनकै क्रममा उपसमितिले बुधबार बिहान कलेज प्रतिनिधिलाई छलफलमा बोलाएको हो । जानकी, नेपालगञ्ज, विराट, लुम्बिनी, देवदह र मणिपाल मेडिकल कलेजका प्रतिनिधि बैठकमा उपस्थित थिए । पौने २ घन्टासम्म चलेको बैठकमा समितिका सदस्यहरूले कलेज प्रतिनिधिसँग शुल्कलगायत विषयमा प्रश्न राखेका थिए । योगेश भट्टराई, खगराज अधिकारी, मनकुमारी जिसीलगायत सांसदले छानबिनका क्रममा भेटिएका प्रमाणका आधारमा प्रश्न राखेका थिए । 

बढी पैसा लिने मेडिकल कलेजको सम्बन्धन खारेज हुन सक्छ  : योगेश भट्टराई
तपाईंहरूले कि यतिमा पढाउन सक्दैनौँ भनेर विश्वविद्यालयलाई ‘कम्प्लेन’ गर्नुपर्‍यो, होइन भने तोकिएबमोजिम पैसा लिनुपर्‍यो । विद्यार्थीलाई ‘टर्चर’ दिनुहुन्छ रे । पैसा बढी लिनुहुन्छ रे । अभिभावकहरूले रुँदै आफ्नो पीडा पोख्नुभएको छ । त्यस्तो नगर्नुस् । बढी शुल्क लिने कलेजको सम्बन्धन नै खारेज हुन सक्छ ।

मेडिकल कलेजका होस्टेलले केटाकेटी बिगार्छ  : खगराज अधिकारी

छात्रवृत्ति पाएको विद्यार्थीले समेत कलेजमा पैसा तिर्नुपरेको गुनासो सत्य हो ? शिक्षकहरूलाई पनि तलब दिनुभएन रे, त्यसैकारण शिक्षकले विद्यार्थीलाई फेल गराइदिन्छ भन्ने गुनासो छ । उजुरी सबै ठीक नहुन पनि सक्छ । तर, मेडिकल कलेजमाथि किन यति धेरै उजुरी आउँछ ? कसैले बौलाएर उजुरी गरेको त होइन होला नि । तपाईंहरूको होस्टेलमा बसेका विद्यार्थी बेलुका भएपछि रक्सी खाँदै बजार चहारेको त मेरै आँखाले देखेको छ । गाँजा खाएर हिँडेको पनि प्रमाण छ । केटीको होस्टेलमा केटा पसेको छ । यस्तो पनि हुन्छ होस्टेल ? हाम्रा साना नानीहरूलाई तपाईंहरूले बिगारेर घर पठाइदिन त भएन नि !

nayapatrika.com