युगानुकूल विकास गर्दा वातावरण, मानवीय हित र दिगोपनलाई पनि ध्यान दिनुपर्ने विचार व्यक्त गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ ले विश्व वातावरण दिवसको अवसरमा बुधबार आयोजना गरेको वृक्षारोपणसँग आयोजित कार्यक्रमका वक्ताले यस्तो भनाइ राखेका हुन् ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले वातावरणलाई उपेक्षा गरी हुने विकासले मानव हित र समृद्धि नहुने बताए । उनले वातावरण र विकासलाई सँगसँगै लैजानुपर्ने अन्तर्राष्ट्रिय अभ्यास स्थापित भएको बताए । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले सुन्दर पोखराको प्रवेशद्वार वडा नं. १७ लाई व्यवस्थित, स्वच्छ र सुन्दर बनाउन वडा लागिपरेको बताए । उनले भने, ‘हामी वडाको विभिन्न अवस्थाको तथ्यांक संकलन गरी आवधिक योजना बनाउँदै छौं ।’

पोखरा १७ का वडा सदस्य तथा कार्यपालिका सदस्य राधिका शाही योगीले जुनसुकै विकासका कामको स्थानीयले अपनत्व लिएमात्र त्यो दिगो हुने बताइन् । उनले स्थानीयको अपनत्व हुने गरी विकास, निर्माणका काम भइरहेको उनको भनाइ छ । पोखरा उपत्यका वृहत सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले सभ्य, सुसंस्कृत नागरिकको परिचय दिन सफाइ अभियान र सचेतना जरुरी रहेको बताए ।
कार्यक्रममा डेमसाइड टोल विकास संस्थाका अध्यक्ष शिवमाया श्रेष्ठ र सचिव शोभा श्रेष्ठले पनि बोलेका थिए । कार्यक्रमका सहभागीले राष्ट्र बैंकचोकदेखि सहिदचोकसम्मको डिभाइडरमा विभिन्न जातका करिब १ सय ५० विरुवा रोपेका छन् ।






