आमाले विहे गर्न नमानेपछि छोरी अपहरण

चार सन्तानकी आमासँग आशक्त एक व्यक्तिले महिलाले विहेको प्रस्ताव अस्वीकार गरेको झोंकमा उनकै ९ वर्षकी छोरीको अपहरण गरेका छन् । मंगलबार यो घटनाको खुलासा भएको हो । 

पुलिसले सय बढी सिसिटिभी फुटेज अनुसन्धान गरेपछि १२ घण्टाभित्रै अपहरणको घटना फर्दाफास भएको हो । यो घटना भारतको राजधानी दिल्लीको हो । भारतीय समाचार माध्यमका अनुसार जून २ तारिख (जेठ १९) दिउँसो दुई बजे बालिका घर नजिकैको पसलमा अण्डा लिन गएकी थिइन् ।

लामो समयपछि पनि छोरी घर नफर्केपछि आमाले खोजतलास शुरु गरिन् । कतै पनि नभेटेपछि यसबारे पुलिसलाई जानकारी दिइन् । उजुरीपछि पुलिसले वरिपरीको सिसिटिभी फुटेज अनुसन्धान गर्दा कमलेश नामका एक व्यक्तिले बालिकालाई फकाएर आफूसँगै लगेको पत्ता लाग्यो ।

स्रोतका अनुसार केही दिनअघि कमलेशलाई बालिकाकी आमाले घरको मर्मतका लागि बोलाएकी थिइन् । कमलेश दैनिक ज्यालादारी गर्ने एक मजदुर हुन् । उनी युपीमा बस्छन् । पीडित महिला चार सन्तान छन् ।

आरोपी कमलेशले उनकी सबैभन्दा कान्छी छोरीको अपहरण गरेका थिए ।
पक्राउ पछि आरोपीले महिलालाई विवाहको प्रस्ताव राखेको र उनले अस्वीकार गरेपछि त्यसको बदला लिन उनकै छोरीको अपहरण गरेको पुलिसले जानकारी दिएको छ ।