अन्तराष्ट्रिय विश्व वातावरण दिवसको अवसर पारेर मुस्ताङको मुक्तिक्षेत्र आसपास बृक्षारोपण गरिएको छ ।धार्मिक क्षेत्रको वातावरणलाई स्वच्छ,हराभरा तथा प्राकृतिक सौन्दर्यकरण गर्ने उद्देश्यले जिल्लाका बिभिन्न सरोकारवालाले बुधवार बृक्षारोपण गरे।
जिल्ला यूवा समिति र जनप्रिय यूवाक्लव रानीपौवाको संयूक्त आयोजना तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप र डिभिजन बन कार्यालय मुस्ताङको सहआयोजनामा मुक्तिक्षेत्रको रानीपौवा स्थित साङ्तोक पाखोमा एक हजार थान बिरुवा रोपिएको जिल्ला यूवा समिति मुस्ताङका संयोजक सम्राट गौचनले जानकारी दिए ।
जिल्ला यूवा समितिको नारा ‘समाजका लागि यूवा परिचालन’ र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाको ‘स्वच्छ वायु –स्वच्छ जिवन’ भन्ने उद्घोषसहित भएको बृक्षारोपण कार्यक्रममा आयोजक जिल्ला यूवा समिति,जनप्रिय यूवाक्लव,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना,डिभिजन बन कार्यालय,सैनिक उच्चशिखर शिक्षालय जोमसोम,बज्रदल गण जोमसोम,नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिव १ सय जनाको उपस्थिती रहेको थियो ।
मुक्तिक्षेत्र वरपर बृक्षारोपण गरिएको स्थानमा ५ सय मिटर लामो सिचाई पाईपको व्यवस्था गरेको छ ।त्यस्तै, वरपर ग्याबिन तारजाली लगाई पर्खाल निर्माण गर्ने र बिरुवा सिचाईका लागि आवश्यक औजार समेत उपलब्ध गराएको छ ।बिरुवाको सिचाई र संरक्षण भनेर ५ लाख बजेट बिनियोजन गरेको डिभिजन बन कार्यालयले जनाएको छ ।
मुक्तिक्षेत्रको साङ्तोकमा लगाईएका बिरुवाको हेरचाह जनप्रिय यूवाक्लव रानीपौवाले गर्ने क्लवका अध्यक्ष उल्र्गेन पाल्देन गुरुङले जानकारी दिए ।यस्तै,बृक्षारोपणका लागि अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले बिरुवा उपलब्ध गराएको शान्ति गुरुङले बताईन् ।






