नेकपा भित्र मत बाझियो, इन्चार्ज र सहइन्चार्ज तोक्न विहीबारको भाका

नेताहरुबीच मत बाझिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले बुधबार पनि पार्टी जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाझिएपछि जिल्ला कमिटीको इन्जार्च र सहइन्चार्ज तोक्ने काम टुंगोमा पुग्न नसकेको हो ।

के गर्दा बढि उपयुक्त हुन्छ ? भन्ने विषयमा गम्भिरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोली बिहान नौं बजे पुन बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोली बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने छ ।

नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा तयार पारेको पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको लिष्टमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज दिन नहुने अडान वरिष्ठ नेता नेपालले लिएपछि सो सम्बन्धि निर्णय लिन ढिलाई हुन गएको हो ।