नेपाल विद्यार्थी संघ, धादिङ–पोखरा सम्पर्क समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । संघले नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत तथा विश्व वातावरण दिवसको अवसरमा पोखराको पृथ्वीनारायण क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरिएको गरेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकाललाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
उक्त अवसरमा नेता जोशीले पढ्ने र खेल्ने उमेरका विद्यार्थीले रक्तदान कार्यक्रम गरेकोमा निकै गौरव अनुभूति भएको बताए । उनले नेविसंघको रक्तदान कार्यक्रमले जागरण अभियानलाई पनि सघाउने विश्वास व्यक्त गरे ।
नेता जोशीले पार्टीको अभियानका साथै मुलुकको परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण भएको भन्दै पार्टीले पनि नेविसंघलाई महत्वपूर्ण खम्बा मानेको स्पष्ट पारे ।
कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत कास्कीका केन्द्रीय प्रतिनिधि समेत रहेका नेता जोशीले जागरण अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्याएको र नेता कार्यकर्तामा निकै उत्साह छाएको दावी गरे ।
उनले जागरण अभियानको पहिलो चरण समापनको तयारीमा रहेकाले २५ गते शनिबार समापन कार्यक्रममा सक्रिय सहभागी हुन आग्रह गरे ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले नेविसंघले रक्तदान कार्यक्रमले विद्यार्थीमा उत्साह थपेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । उनले कास्कीमा जुनसुकै जिल्लाका कांग्रेसी भए पनि पार्टीले साथ र समर्थन गर्ने भन्दै कास्कीमा कसैले एक्लो महसूस गर्न नपर्ने बताए ।
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिका सभापति लालप्रसाद पाठकले युवा जोशले भरिएका विद्यार्थीमा पनि सामाजिक भावना जाग्नु महत्वपूर्ण विषय भएको भन्दै नेविसंघका लागि सिंगो पार्टी र समितिले साथ दिने प्रतिवद्धता जनाए ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्यद्धय गोपाल गुरुङ र भानु ढकालले बाहिरी जिल्लाका नेविसंघका साथीहरुलाई सदैव साथमा लिएर हिंड्ने प्रतिवद्धता जनाए । उनीहरुले नेविसंघको यो कार्यक्रमले विद्यार्थीमा उत्साह थप्ने भन्दै अन्य गतिविधिमा पनि सहयोग गर्ने स्पष्ट पारे ।
संघका सभापति हरिकृष्ण सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसकी महासमिति सदस्य खेमकुमारी बराल, पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वीरबहादुर कार्की, प्राध्यापक संघका नेता होमनाथ पौडेल, नेविसंघ पृथ्वीनारायण क्याम्पस इकाइ सभापति दीपक शर्मा वाग्ले, कार्यक्रम संयोजक निमेश खतिवडा, संघका सचिव राकेश श्रेष्ठ लगायतले बोलेका थिए ।






