पोखराका मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।
आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नाका साथै गरीबलाई दान दिने गरेका छन् ।
पोखरा–१३ स्थित पुरानो इदगाहका साथै चिप्लेढुङ्गा र पृथ्वीचोकमा अवस्थित इदगाहमा स्थानीय मुसलमानले नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरेका छन् । मुस्लिम धर्मगुरु हनिफ मियाँले यस पर्वको अवसरमा इद मुवारक शब्दको माध्यमबाट एकअर्कालाई बधाई दिने गरिएको बताए ।
आपसी भातृत्व र खुशीयाली पर्वको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देउता अल्लाह प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्छन् ।
सोहि अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उलफित्रको अवशरमा उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व यस पर्वले कायम गर्ने अपेक्षा व्यक्त गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना उल्लेख गरे ।






