नमुना फैसला, नेपालका अदालतले पनि सिको गरुन्

भारतको राजस्थानस्थित प्रतापगढ जिल्ला अदालतले अवैध रुपमा रुख काट्ने ४ अभियुक्तलाई जमानतका लागि १० गुणा बढी बिरुवा रोप्ने आदेश दिएको छ । २७ वटा रुख काटेका उनीहरुलाई अदालतले २७० वटा बिरुवा रोपेर फोटो पेस गर्न भनेको हो । 

यी चार आरोपीले जमानतका लागि न्यायाधीश राजेन्द्रकुमार शर्मासमक्ष निवेदन दिएका थिए । न्यायाधीश शर्माको इजलासले उनीहरुलाई दोषी ठहर्याउँदै एक महिनाभित्र २७० बिरुवा रोप्न आदेश दियो । आदेशअनुसार,  यी बिरुवाको रेखदेख पनि उनीहरुले नै गर्नुपर्नेछ । 

अब, दोषीहरुले बिरुवा लगाएर अदालतमा फोटो पेस गर्नेछन् । वन विभागले पनि यसबारे निरीक्षण गरेर अदालतमा रिपोर्ट पेस गर्नेछ । 

संरक्षित क्षेत्रका रुख काटेको आरोपमा वन विभागले मुद्दा दायर गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।