१ शिक्षक, ० विद्यार्थी

विद्यालय भन्ने बित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरू हुन्छ । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् ।

डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपार्इंले सोचेजस्तो देख्नुहुन्न । जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालयमा एकजना पनि विद्यार्थी छैनन् । पहिलेका विद्यार्थी पनि अन्यत्र निजी विद्यालयमा स्थानान्तरण भए भने यस वर्ष एक जना विद्यार्थी पनि भर्ना हुन आएनन् । यो वर्षको भर्ना अभियान पनि सकिसकेको छ । विद्यार्थी नै नभएको विद्यालयका एक्ला शिक्षक छन् ः जगदीशप्रसाद रोका ।

विद्यार्थी नै नभएपछि शिक्षक रोकाको दिनचर्या बिहान विद्यालय जाने र विद्यालय समयभर एक्लै कार्यालय कुरेर फर्कनुमा बित्ने गर्दछ । उनको यो अवस्था चालू शैक्षिक सत्र शुरु भएपछि मात्र आएको हो । गत वर्ष नै विद्यार्थीको सङ्ख्या अत्यन्तै न्यून थियो । अहिले एक जना पनि विद्यार्थी भर्ना नभएपछि उनलाई विद्यालय खोलेर समय बिताउन बाध्य हुनु परेको छ ।

गत शैक्षिक सत्रमा यस विद्यालयबाट १० जनाले मात्र परीक्षा दिएका हुन्, नियमितरूपमा विद्यालय पढ्न आउने विद्यार्थीको सङ्ख्या दुई÷तीन जनाभन्दा बढी कहिल्यै थिएन । अङ्ग्रेजी माध्यमबाट निःशुल्क पढाउँदा पनि अभिभावकले शुल्क तिरेर आफ्नो बच्चा निजी विद्यालयमा पढाउँछु भनेर लगेका छन् । “अभिभावकले नै साथ नदिएपछि हामी शिक्षकले मात्र के गर्न सक्छौँ र ? हामीले विद्यालय मिश्रणका लागिसमेत आग्रह गरेका थियौँ तर कतै सुनुवाइ भएन, उनले भने ।

विसं २०३४ मा खुलेको यो विद्यालय साबिक कम्दी गाविसमा अब्बल मानिन्थ्यो । तर अहिले अभिभावकको निजी विद्यालयप्रतिको मोहले विद्यार्थी शून्य भएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरबहादुर बोहोराले बताए ।