जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयबाट सरुवा भई आएका प्रहरी उपरीक्षक दानबहादुर कार्कीको स्वागत तथा प्रहरी प्रधान कार्यालयमा सरुवा भई जान लागेका प्रहरी उपरीक्षक ओमबहादुर रानाको बिदाई गरिएको थियो ।
सामुदायिक सेवा एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ, कालिका र हेम्जाले एक कार्यक्रम आयोजना गरी कार्कीको स्वागत र रानाको बिदाई गरिएको हो ।
कास्कीमा आफ्नो १३ महिना सेवा गरेका प्रहरी प्रमुख रानाले आफू नयाँ कार्य क्षेत्रमा जान लागे पनि पोखराका जनताको माया र साथलाई सधैं स्मरण गरिरहने बताए ।
आम कास्कीका नागरिकको साथ र सहयोगका कारण आफ्नो कार्यकाल सफल भएको बताउँदै उनले पछिल्लो समय प्रविधिको विकासका कारण समाजमा अपराधका घटना बढ्दै गईरहेको बताए । उनले कास्की जिल्ला आफैमा प्रदेश राजधानी र पर्यटनको केन्द्र समेत भएकोले सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण भएको भन्दै प्रविधिको विकाससंगै बढदै गएको सामाजिक अपराध नियन्त्रण प्रमुख चुनौती बनेको बताए ।
कास्कीका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले प्रहरी सफल हुन नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । उनले अपराध नियन्त्रण प्रहरीको मात्र एकल विषय नभएको भन्दै प्रहरीलाई नागरिक समाजको निरन्तर आवश्यक पर्ने स्पष्ट पारे । आफू भर्खरमात्र कास्कीमा आएकोले अघिल्ला प्रहरी नेतृत्वले अघि सारेका राम्रा कामलाई निरन्तरता दिंदै प्रहरी संगठनलाई भरोषायोग्य बनाउन लागि पर्ने प्रतिवद्धता जनाए ।
अध्यक्षको आशनबाट बोल्दै सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका कार्यबाहक अध्यक्ष बोधराज कार्कीले कास्कीमा प्रहरी उपरीक्षक ओमबहादुर रानाको कार्यकाल सफलतापूर्वक वितेको भन्दै नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीको कार्यकाल पनि सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली, निवर्तमान अध्यक्ष विष्णुबहादुर भट्टराई, प्रथम उपाध्यक्ष भिम पराजुली, द्वितीय उपाध्यक्ष दया बराल, सहकोषाध्यक्ष दानबहादुर बस्नेत, सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक अध्यक्ष जयराम अधिकारी, बैदामका उपाध्यक्ष हरिराज पहारी, बगरका अध्यक्ष मनपति भण्डारी, माटेपानीका अध्यक्ष कृष्णप्रसाद आचार्य, लेखनाथका अध्यक्ष रमेश ओझा, कालिकाका अध्यक्ष हुमनाथ अधिकारी र हेम्जाका अध्यक्ष बिष्णु बाँस्तोला लगायत सहभागी थिए । कार्यक्रमको संचालन महासचिव उत्तम जोशीले गरेका थिए ।






