पोखरा महानगरपालिकाले पोखरा ३३ तल्लो पुडीमा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । महानगरले औद्योगिक क्षेत्र स्थापनाका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरी काम अघि बढाउन पोखरा ३३ का वडाध्यष शिवप्रसाद आचार्यको संयोजकत्वमा कार्यदलसमेत बनाएको छ ।
कार्यदलका सदस्यमा उद्योगपति गणेशबहादुर श्रेष्ठ, अधिवक्ता हरिप्रसाद सुवेदी, मालपोत र डिभिजन वन कार्यालयका प्रमुख वा प्रतिनिधि सदस्य रहनेछन् । ७ सदस्यीय कार्यदलको सदस्य सचिवमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भुसनकुमार उपाध्याय छन् । कार्यदलको संरक्षकमा मेयर मानबहादुर जिसी र सल्लाहकारमा शुक्लागण्डकीका मेयर किसानसिंह गुरुङ छन् ।
महानगरको ३० औं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पोखरा महानगरपालिकाको पाँचौ नगरसभा २०७६ असार ८ गते आरम्भ गरी सोही दिन आ.व.२०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गर्ने र १० गते बजेट पेश गर्ने निर्णय गरेको छ ।
यस वर्षको बजेट, नीति, योजना, कार्यक्रम तथा बजेट तयारी गर्न पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलको संयोजकत्वमा ९ सदस्यीय आर्थिक विकास समिति गठन गरेको छ । महानगरको बोर्ड बैठकले पोखरा ३० का वडाध्यक्ष श्रीराम पोखरेलको संयोजकत्वमा सामाजिक विकास समिति, पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यको संयोजकत्वमा पूर्वाधार विकास समिति, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन समिति र पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीको संयोजकत्वमा संस्थागत विकास तथा सेवा प्रवाह समिति गठन गरेको छ
महानगरले स्थानीय सेवाका स्थायी, अस्थायी र करार सेवाका कर्मचारीलाई उपदान, कोषकट्टी लगायतका सेवा उपलब्ध गराउने तयारीसमेत गरेको छ । यसका लागि कार्यविधि तर्जुमा गरी सरोकारवालाको सुझावसमेत लिएर आगामी नगर सभामा पेश गर्ने निर्णय भएको प्रवक्ता धनबहादुर नेपालीले बताए । महानगरपालिकाले नेपाल सरकारबाट १३ वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माणमा प्राप्त रकम तथा गण्डकी प्रदेश सरकारबाट ४ (चार) वटा शहरी स्वास्थ्य केन्द्र तथा ३ (तिन) वटा बर्थिङ सेन्टर निर्माण गर्न ससर्त अनुदानमार्फत प्राप्त रकम पोखरा महानगरपालिकामा स्थापना भइसकेका तथा स्थापना हुन बाँकी स्वास्थ्य संस्था, सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, शहरी स्वास्थ्य केन्द्र तथा बर्थिङ सेण्टरहरुको भवन निर्माण गर्ने गरेको छ ।




