ग्रामिण स्थानको विद्यालयमा कम्प्युटर शिक्षा

बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् ।

विद्यालयका कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्ने मौका पाएका हुन् ।

कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको प्रधानाध्यापक रामबहादुर केसीले बताए । कम्प्युटर शिक्षक प्रेमप्रसाद गौतमका अनुसार ‘वर्ड’, ‘एक्सल’, ‘पावर पोइण्ट’, ‘प्रोग्राम डिजाइन’लगायतका विषयमा पढाइ हुने गरेको छ ।

विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि २० वटा कम्प्युटर छन् । कम्प्युटर विषयमा विद्यार्थीको आकर्षण बढेपछि थप कम्प्युटर र सन्दर्भ सामग्रीको खाँचो रहेको शिक्षक गौतमले बताउनुभयो ।

विद्यार्थीले पढ्ने बेला गरेका गतिविधि पनि कम्प्युटरबाटै निगरानी हुने गर्छ । विद्युतीय पुस्तकालयका रुपमा पनि कम्प्युटर कक्षाको प्रयोग हुँदै आएको छ । कम्प्युटर कक्ष स्थापनाका लागि ‘एडुटिच नेपाल’ले रु दश लाख बराबरको उपकरण र फर्निचर उपलब्ध गराएको थियो ।