सेनाले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ३० पुगेको छ । सुडानको राजधानी खार्तुममा सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो । गोली लागेर सयौं प्रदर्शनकारी घाइते भएका छन् ।
सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् । सैन्य मुख्यालय अगाडि धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाएको बताइएको थियो ।
चिकित्सकहरुको केन्द्रीय टोलीले घटनामा सयौं व्यक्ति घाइते भएको र मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने दाबी गरेको छ । सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैंले लिएको थियो ।






