हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।
शेर्पाले गत जेठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको जिपीएस ट्रेकिङले उल्लेख गरेको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पायोनियर एडभेन्चरले शेर्पाले सगरमाथा र चौथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सार्वजनिक गरे।
संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ का शेर्पाले सगरमाथाको ५ पटक सफल आरोहण गरिसकेका छन्। त्यसैगरी उनले ल्होत्से हिमालको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, केटु हिमालको २ पटक, धवलागिरी हिमालको २ र आमादब्लाम हिमालको २ पटक गरी २० पटक हिमालहरुको सफल आरोहण गरिसकेका छन्।






